खाद्य कम्पनीले अनलाइन अर्डरबाट बिक्री गर्‍यो ८० क्‍विन्टल खाद्यान्न
काठमाडाैं। लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ।

उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले गत २६ चैतदेखि अनलाइन अर्डर शुरू गरेर खाद्यान्न बिक्री वितरण गर्दै आएको हो।

यस अवधिमा काठमाडौं उपत्यकाको चक्रपथभित्रका उपभोक्तालाई लक्षित गर्दै अर्डरअनुसार दैनिक तीन भ्यानमार्फत् खाद्य पदार्थ बिक्री गरिँदै आएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन्।

उनका अनुसार चामल र चिनीको बिक्री गर्दै आएको कम्पनीले उपभोक्ताको मागअनुसार तीन प्रकारका दाल (मुसुरो, रहर र केराउ) र पीठोसमेत बिक्रीको तयारी गरिएको छ।

हाल थापाथली, नख्खु, रामशाहपथ, श्रीविनायक र लगनखेल गरी पाँच स्थानबाट खाद्य पदार्थ बिक्रीवितरण गरिएको छ। त्यस्तै उपत्यका बाहिर सबै जिल्लाबाट बिक्री गरिएको कम्पनीले जनाएको छ। अन्य समयमा कम बिक्री हुने तराईका जिल्लामा समेत अहिले पर्याप्त मात्रामा खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिइन्।

हाल कम्पनीसँग १९ हजार मेट्रिकटन खाद्यान्न मौज्दात छ। मौज्दातमा कमी भएसँगै नयाँ खरिदको प्रक्रिया शुरू हुने उनले जानकारी दिइन्।

उनका अनुसार गहुँ खरिदको तयारी गरिएको छ। “लकडाउनको अवधिमा हामीले मोबाइल भ्यान र इ-सेवावाट खाद्यान्न खरिदको शुरुआत गरेका हौँ”, उनले भनिन्, “शुरुआती चरणमा रिङरोड भित्र मात्रै सेवा प्रवाह गरिए पनि उपत्यकाका सबै स्थानमा सेवा प्रदान गर्ने तयारी गरेका छौँ।”

यसैबीच खाद्य कम्पनीले एक लाख क्विन्टल चामल खरिद गर्न दोस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गरेको छ। एक महिनाको अवधि राखेर बोलपत्र आह्वान गर्दा एकजनाको पनि नपरेपछि १५ दिनको अवधि राखेर पुनः दोस्रो बोलपत्र आह्वान गरिएको कम्पनीले जनाएको छ।

१० वैशाखमा दोस्रोपटक आह्वान गरिएको बोलपत्रअनुसार एकजनाको आवेदन दर्ता भएको कम्पनीका खरिद एकाइ प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्