कोभिड-१९ का बिरामीको उपचार प्लाज्मा थेरापीबाट

कोलकाता। भारतको पश्‍चिमबंगाल राज्य सरकारले कोभिड-१९ का बिरामीको उपचारमा प्लाज्मा थेरापी अपनाउने निर्णय गरेको छ।

यसअघि भारतकै दिल्ली र कर्नाटक सरकारले सोही विधिबाट कोभिड-१९ का बिरामीको उपचार शुरु गरिसकेका छन्। सार्स, कोभिड, एच१एन१ र मर्सजस्ता भाइरस संक्रमणका बिरामीका लागि यो थेरापीको प्रयोग हुँदै आएको छ।

कोभिड-१९ का बिरामीमा पनि तिनै भाइरस संक्रमणको जस्तो लक्षण देखिँदै आएको छ। त्यसैले प्लाज्मा थेरापी कोभिड-१९ का बिरामी निको पार्न पनि उपयोगी हुने चिकित्सकहरूको विश्‍वास देखिन्छ। तर, त्यसको कुनै वैज्ञानिक आधार तयार भइसकेको छैन।

चिकित्सकहरूका अनुसार प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो, जसलाई रगतबाट छुट्याएपछि पहेँलो रंगको देखिन्छ। यसले शरीरमा आवश्‍यक प्रोटिन पुर्‍याउने काम गर्छ।

पश्‍चिमबंगाल सरकारले प्लाज्मा दान गर्न चाहने दाताको खोजी पनि शुरु गरेको छ। यस थेरापीको क्लिनिकल परीक्षण यसै साता शुरु गरिने राज्य सरकारको स्वास्थ्य विभागका अधिकारीहरूले जनाएका छन्।

‘त्यसका लागि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले अनुमति दिइसकेको छ,’ स्वास्थ्य सचिव विवेक कुमारले बीबीसीसँग भने।

उनका अनुसार पहिलो चरणमा क्लिनिकल परीक्षणका लागि ८० जना बिरामीलाई सहभागी गराइने छ। दाताहरूबाट प्लाज्मा लिने काम सरकारी मेडिकल कलेज र अस्पतालहरूले गर्ने छन्। र, बिरामीको शरीरमा प्लाज्मा चढाउने काम संक्रामक रोगसम्बन्धी अस्पतालहरूमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्