नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित

काठमाडौं। १८ वैशाखमा दक्षिण कोरिया जाने तय भएको नेपाल वायु सेवा निगमको उडान तत्कालका लागि स्थगित भएको छ।

कोरियामा कार्यरत नेपाली कामदार लैजान दक्षिण कोरियाको राजधानी सोलका लागि निगमको उडान तय भएको थियो।

तर, अहिलेका लागि उडान स्थगित भएको सूचना आएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

दक्षिण कोरिया लैजान लागिएका सबै कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा समय लाग्‍ने भएकाले अहिलेका लागि उडान स्थगित गरिदिन सूचना आएको खड्काले जानकारी दिइन्।

दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका थिए।

१८ वैशाख बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट निगमको वाइडबडी विमान सोलका लागि उड्ने तालिका थियो ।

नेपाल आएका कामदारको विदा अवधि सकिएपछि गैरआवासीय नेपाली संघ कोरियाले उनीहरूलाई फर्काउने व्यवस्था मिलाएको थियो। विमानको भाडा कामदारले तिर्ने गरी उडानको व्यवस्था मिलाइएको थियो । उडानको अर्को मिति तय नभएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्