अमेरिकामा कुकुरमा पनि भेटियो कोभिड-१९

न्युयोर्क। अमेरिकाको नर्थ क्यारोलिनामा एक घरपालुवा कुकुरमा सार्स-कोभ-२ भाइरस फेला परेको छ। यही भाइरसका कारण मानिसमा कोभिड-१९ को महामारी शुरु भएको थियो।

डुक युनिभर्सिटीका अनुसन्धानकर्मीले न्युयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिनलाई दिएको जानकारीअनुसार अमेरिकामा कुकुरमा कोभिड-१९ भेटिएको यो पहिलो केस हो।

अमेरिकामा गत २२ अप्रिलमा न्युयोर्कका फरक स्थानमा दुईवटा घरपालुवा बिरालामा पनि सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो। दुवै बिराला हाल उपचाररत छन्।

न्युयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि ५ अप्रिलमा सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

कुकुरमा सार्स-कोभ-२ भेटिएको परिवारका बाबु, आमा र छोरामा कोभिड-१९ पोजिटिभ पाइएको थियो।

ड्युक युनिभर्सिटीका अनुसन्धानकर्मीले मानिसको शरीरबाट कसरी कुकुरमा कोरोना भाइरसको संक्रमण सर्‍यो भन्‍नेबारे अध्ययन गरिरहेका छन्।

‘अमेरिकामा कुकुरमा कोभिड-१९ पोजिटिभ भेटिएको यो पहिलो केस हो,’ प्रमुख अनुसन्धानकर्ता डा. क्रिस वुड्सले भने, ‘यसबारे थप तथ्य सार्वजनिक गर्न समय लाग्नेछ।’

अमेरिकी भेटेनरी मेडिकल एसोसिएसनका अनुसार घरपालुवा जनावरमा कोरोना भाइरसको संक्रमणको जोखिम न्यून नै छ। हालसम्म संसारभर दुईवटा कुकुर र दुईवटा बिरालामा मात्र कोभिड-१९ पोजिटिभ पाइएको छ।

गत फेब्रुअरीको अन्तिममा हङकङमा मानिसबाट जनावरमा भाइरस सरेको फेला परेको थियो। हङकङमा कुकुरमा कोरोना भाइरस उसका मालिकबाट सरेको अनुमान चिकित्सकहरूले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्