चीनमा २४ घण्टामा शून्य मृत्यु, अमेरिकामा भियतनाम युद्धभन्दा बढी हताहती

लन्डन। कोभिड-१९ को महामारी शुरु भएको मुलुक चीनमा नियन्त्रणमा आउँदै गरेको देखिँदा अमेरिकामा भने मृत्युदर र संक्रमित संख्या बढ्दो छ।

चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ बिरामी फेला परे। तर, एक जनाको पनि मृत्यु नभएको अधिकारीहरूले जनाएका छन्। नयाँ बिरामीमध्ये एकजना विदेशबाट आएका चिनियाँ नागरिक हुन्।

बीबीसीका अनुसार चीनमा कोभिड-१९ का कारण हालसम्म चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमण कम हुँदै जाँदा चीनको नेसनल पिपुल्स कंग्रेसले २२ मेमा आफ्नो वार्षिक बैठकको तयारी थालेको छ। अब बैठक गर्न सकिने वातावरण तयार भएकाले यस्तो निर्णय लिइएको पिपुल्स कंग्रेसका उच्च अधिकारीलाई उद्धृत गर्दै सरकारी सञ्‍चारमाध्यमहरूले जनाएका छन्।

गत ५ मार्चका लागि उक्त बैठकको मिति तय भएको थियो। चिनियाँ सांस्कृतिक क्रान्तिपछि पहिलोपटक उक्त बैठक स्थगित भएको हो।

राजधानी बेइजिङमा हुने बैठकमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने गर्छन्।

अमेरिकामा भने कोभिड-१९ का कारण ५८ हजार तीन सय ५५ जनाको मृत्यु भइसकेको छ। उक्त संख्या दुई दशक चलेको भियतनाम युद्धमा भएको हताहतीभन्दा बढी हो। भियतनाम युद्धमा ५८ हजार दुई सय २० जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्