उच्च अदालत नेपालगञ्जका न्यायाधीश शाही बर्खास्त

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

उनलाई उच्च अदालत पोखरामा कार्यरत रहँदा गोर्खा ब्रुअरीको राजस्व विवादसम्बन्धी एक रीटमा क्षेत्राधिकार भन्दा बाहिर गएर सुनुवाई गरेको आरोप लागेको थियो ।

उच्च अदालत पोखरामा रहँदा उक्त रीटको सुनुवाई गर्ने न्यायाधीशहरू शाहीसहित जीवनहरी अधिकारी र रामचन्द्र यादवमाथि छानबिन गर्न सर्वोच्च अदालतले यसअघि आदेश दिएको थियो ।

त्यसपछि न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल सम्मिलित एक सदस्यीय छानबिन समिति बनाएको थियो । आफूहरूमाथि छानबिन हुने देखिएपछि न्यायाधीशद्वय अधिकारी र यादवले पदबाट राजीनामा दिएका थिए ।

पदमै रहेका न्यायाधीश शाहीको त्यसपछि नेपालगञ्ज सरुवा भएको थियो ।

न्यायाधीश मल्लले दिएको छानबिन प्रतिवेदनका आधारमा न्यायाधीश शाहीलाई स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएपछि पदमुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का सूचना अधिकारी टेकनाथ गौतमले देखापढीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्