थप तीनजनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं। नेपालमा थप तीनजनाका कोरोना संक्रमण देखिएको छ।

बाराका दुई र पर्साको वीरगञ्जका एकजनामा कोरोना संक्रमण देखिएको हो।

जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले  बताएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीनजनामा संक्रमण देखिएको जानकारी आएको वीरगञ्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले देखापढीलाई बताए।

“मौखिक रूपमा तीनजनामा संक्रमण भेटिएको भन्ने खबर आएको छ”, उनले भने, “ उनीहरूलाई नारायणी अस्पताल ल्याउने तयारी भइरहेको छ।”

१४ वैशाखमा वीरगञ्जका दुईजनामा कोरोना पोजिटिभ देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा यिनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।

ती दुईजनाको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं ल्याइएको थियो।

तीनै नमूना परीक्षणको क्रममा तीनजनामा संक्रमण देखिएको हो।

आज संक्रमित तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएको खुलेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५७ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

हिजो रौतहटमा पनि दुई जनामा संक्रमण पुष्टि भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्