आउँदो बजेट स्वास्थ्यमा केन्द्रित गर्न कांग्रेसको माग
काठमाडौं। नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न माग गरेको हो।

यस्तै संवैधानिक व्यवस्थाअनुसार १५ जेठभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद् सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ।

कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न पनि संसद् शुरू हुनुपर्ने आवश्यकता कांग्रेसले औंल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यस्तै बैठकमा लकडाउनको समीक्षा पनि भएको छ। बैठकले लकडाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेको प्रवक्ता शर्माको भनाइ छ।

लकडाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरूलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरूलाई पीपीईलगायतका अत्यावश्यक सामग्री अभाव भएको कांग्रेसले जनाएको छ।

पीपीईलगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता, अपराधका घटनालगायतका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्मा बताउँछन्।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अप्ठ्यारोमा परेका नागरिकहरूको उद्धार गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको बृहत् प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिलसमेत गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्