सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन चार्टर्ड विमान ग्वान्जाओ जाँदै

काठमाडौं। नेपाली सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेका स्वास्थ्य सामग्री ल्याउन छनोट भएको आपूर्तिकर्तासँग सम्झौता गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले विश्वव्यापी सामान ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनी फ्ल्यास फ्रेटसँग करीब सात करोड रूपैयाँमा सम्झौता भएको जानकारी दिए। उक्त कम्पनीको स्थानीय प्रतिनिधि ललितपुरमा रहेको उनले बताए।

सामान आपूर्तिकर्ता कम्पनीले पहिलो लटको सामान लिन २३ वैशाखमा चार्टर्ड विमान चीनको ग्वान्जाओ पठाउने भएको छ। पीपीई, एन-९५ मास्क, पीसीआर टेष्टिङ किट्स मेसिन, कीटनाशक स्प्रेलगायतका सामग्री पहिलो लटमा ल्याइने छ।

“१ मे देखि ५ सम्म चीनमा सार्वजनिक बिदा रहेछ”, उनले देखापढीसँग भने, “तर हामीले सामान आपूर्तिकर्तालाई ५ मे अर्थात् २३ वैशाखमै फ्लाइट लग्न भनेका छौं।”

सम्झौताअनुसार आपूर्तिकर्ता कम्पनीले अत्यावश्यक सामान दुईपटक हवाई यातायात भएर ल्याउने छ। हवाई मार्ग भएर ३० टनभन्दा बढी सामान नेपाल ल्याउने सेनाले जनाएको छ।

“हवाई र सडक यातायात दुवै माध्यमबाट सामान ल्याउने सम्झौता भएको छ”, सैनिक प्रवक्ता पाण्डेले भने, “सडकमार्गबाट ल्याउने सामान पनि जति सक्दो चाँडो ल्याउने भन्ने सम्झौता भएको छ।”

नेपाली सेनाले ८ वैशाखमा चीनको साइनो फर्मा इन्टरनेशनल कर्पोरेसनसँग ३४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो। ९ वैशाखमा एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर (दुई अर्ब २५ करोड रूपैयाँ) भुक्तानी गरिएकाे थियाे।

नेपाली सेनाका अनुसार चिनियाँ पक्षले नेपालले खरिद गरेको स्वास्थ्य सामग्री तयार पारिसकेको छ। ग्वान्जाओबाट सामान काठमाडौंसम्म ल्याइने छ।

सडकमार्गबाट ल्याइने ग्वान्जाओबाट तातोपानी नाकासम्म ल्याएर त्यसपछि काठमाडौंसम्म ल्याइने छ। जीटूजी प्रक्रियामार्फत् चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गरिएको हो।

यसअघि सरकारले सामान ल्याउन ओम्नी ग्रुपसँग सम्झौता गरेको थियो। निर्धारित समयमा सामान ल्याउन नसकेको भन्दै सरकारले सम्झौता रद्द गरेर स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्