काभ्रेबाट भक्तपुर प्रवेश गर्ने सबैको ज्वरो नापिँदै
<p>भक्तपुर। काभ्रेबाट भक्तपुर हुँदै काठमाडौं उपत्यकामा भित्रिने सबै यात्रीको ज्वरो मापन र व्यक्तिगत विवरण संकलन शुरु भएको छ।</p>
<p>भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारदेखि नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरूको ज्वरो नाप्‍ने र व्यक्तिगत विवरण लिने काम शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए।</p>
<p>स्थानीय तहसँगको समन्वयमा ज्वरो मापन शुरु भएको हो। नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जगाती नाकामा २४सै घण्टा ज्वरो मापन र व्यक्तिगत विवरण संकलन गरिने बताए।</p>
<p>यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघले संयुक्त रूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी संघ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगर प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका हुन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्