महामारीपछि कृषिलाई प्राथमिकता दिन सुझाव

विराटनगर। कोभिड-१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्‍टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने सुझाव अर्थविद्ले दिएका छन्।

मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरूले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना, वैदेशिक रोजगारीबाट फर्केर आएको श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा परिचालन र एग्रो इन्डस्ट्रियल लिंकेज हुने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन्। सरकारले अविलम्ब अल्पकालीन र दीर्घकालीन नीति ल्याएमा चुनौतीलाई अवसरमा परिणत गर्न सकिने उनीहरूको धारणा छ।

अर्थशास्त्री डा. भेषप्रसाद धमलाले यसअघिका सम्पूर्ण योजना र नीतिलाई पुनरावलोकन गरी आगामी योजना तर्जुमा गर्नुपर्ने, संरचनात्मक परिवर्तन गर्नुपर्ने र आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनुपर्नेमा जोड दिए।

अर्थशास्त्री डा. अर्जुन बरालले विश्व आर्थिक मन्दीको अवस्थाबाट पार पाउन सम्पूर्ण नीतिमै परिवर्तन ल्याई एग्रो प्रोसेसिङ, एग्रो इन्डस्ट्रियल लिंकेजमा जोड दिनुपर्ने बताए।

अर्थशास्त्री डा. पिके झाले वैदेशिक रोजगारीबाट फर्केर आएको जनशक्तिलाई तत्काल कृषि क्षेत्रमा खपत हुने वातावरण बनाउन र कृषि अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताए।

अर्थशास्त्री डा. वेदराज आचार्यले अन्य कुराको साथसाथै शासन सञ्चालनमा पनि सुधार गरेर अगाडि बढनुपर्ने धारणा राखे।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले स्थानीय स्रोत-साधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने नीति बनाउन प्रदेश सरकारले ध्यान पुर्‍याउने बताए। रासस

प्रतिक्रिया दिनुहोस्