महामारीले अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डरमा कम्तिमा दुई वर्ष असर पर्ने

काठमाडौं। युरोपियन फुटबल महासंघ (युईएफए) कार्यसमितिका सदस्यले कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्‍ट्रिय फुटबल क्यालेन्डरमा दुई वा तीन वर्षसम्म असर पर्न सक्ने बताएका छन्।

युरोपियन लिगका अध्यक्ष लार्स क्रिस्टर ओल्सनले कतार विश्‍वकप २०२२ सहित महामारीको असर आकलन गर्न अझै ‘पर्ख र हेर’को स्थिति रहेको बताएका छन्।

यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग अगस्टमा सक्ने तयारी गरिरहेको छ। त्यसो गर्न सम्भव छ-छैन भन्‍नेबारे मेको अन्तिममा निर्णय लिइने बताइएको छ। त्यतिबेला युरो २०२० छनोट तथा नेसन्स लिगको पनि दुई वा तीन अन्तर्राष्‍ट्रिय खेल पनि गर्नेबारे निर्णय गर्ने तयारी गरिएको बीबीसीले जनाएको छ।

यतिबेला विश्‍वका प्रायः सबै देशमा फुटबल गतिविधि स्थगित छन्। युरोपका कतिपय देशमा शीर्ष श्‍रेणीका लिग बीचमै स्थगित भएका छन्। युरो २०२०, कोपा अमेरिकालगायत ठूला प्रतियोगिता एक वर्षका लागि पछाडि सारिएको छ।

यस्तो अवस्थामा कति समयसम्म अन्तर्राष्‍ट्रिय क्यालेन्डरमा असर पर्छ भन्‍ने प्रश्‍नमा ओल्सनले भने, ‘‘मलाई लाग्छ, सम्भवतः दुई वा तीन वर्ष यसको असर रहन्छ।’’

त्यसअघि उनले घरेलु लिग सक्ने विषयमा पनि देशहरूबीच सहमति हुन नसकेको बताएका थिए। कोरोना भाइरस संक्रमणका कारण प्रत्येक देशमा फरक-फरक परिस्थिति बनेका कारण सहमतिमा पुग्न कठिन भएको ओल्सनको भनाइ थियो।

फ्रान्सको शीर्ष श्‍रेणीका लिग वान र लिग टु यस सिजन नहुने भएको छ। फ्रान्स सरकारले सेप्टेम्बरसम्म खेल स्थगित गरिदिएपछि त्यहाँ २०१९-२० को सिजन सक्न असम्भव भएको हो। त्यस्तै नेदरल्यान्ड्समा पनि ‘न रेलिगेशन न विजेता’ हुने गरी यस सिजन समाप्त गरिएको छ।

पिएसजी र आयक्स जस्ता क्लबले लामो समयसम्म नखेल्दा उनीहरूले कसरी युरोपियन लिगमा सन्तोषजनक प्रतिस्पर्धा गर्न सक्छन् भन्‍ने प्रश्‍नमा ओल्सनले भने, ‘‘यो भन्‍न गाह्रो छ। यो असाधारण परिस्थितिमा हामीले पनि असाधारण निर्णय लिनुपर्ने हुन्छ।’’

ओल्सनले थपे, ‘‘अगस्टको अन्तिममा हामी सिजन सक्ने प्रयास गरिरहेका छौं। यो सम्भव भयो भने हामीले अन्तर्राष्‍ट्रिय क्यालेन्डरलाई पनि मिलाउन सक्छौं। हामीले मेको अन्त्यमा निर्णय गर्ने भनेका छौं। त्यो सम्भव भएन भने क्लबहरूले नयाँ सिजन कुर्नु पर्छ।’’

विश्‍वकपका लागि अब दुई वर्षको समय बाँकी रहँदा उक्त प्रतियोगितामा पर्ने असरबारे ओल्सनले भने, ‘‘भाइरस संक्रमण यसभन्दा जटिल बन्दै गयो भने पक्कै पनि यसले अन्तर्राष्‍ट्रिय क्यालेन्डरमा पनि असर गर्छ। केही प्रतियोगिता एक वर्ष पछाडि धकेलिएका छन्। कतार विश्‍वकप शुरू हुँदा युरोपियन सिजन बीचमा पुगेको हुन्छ। त्यसैले हामीले घरेलु र अन्तर्राष्‍ट्रिय प्रतियोगिताको तालिका कसिलो बनाउनुपर्छ। तर, अहिले यस संक्रमणले कतिसम्म असर गर्न त्यो पर्ख र हेरको स्थितिमा छ।’’

प्रतिक्रिया दिनुहोस्