सुलभ अग्रवाल धरौटी तिरेर छुटेलगत्तै पक्राउ, अब सम्पत्ति शुद्धीकरण विभागको हिरासतमा
काठमाडौं। थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई आज काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।
अदालतको आदेश अनुसार उक्त रकम बुझाए पनि अग्रवाल थुनामुक्त भने हुन पाउने छैनन्।
अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले उनी धरौटी तिरेर छुटे लगत्तै पक्राउ परेका छन्।
अदालतले थर्मल गन कालोबजारी मुद्दामा धरौटीमा छाड्न भने पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागको अनुसन्धानका लागि उनलाई थुनामा नै राखिने भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र वोगटीले अग्रवाललाई अदालतले थर्मल गन कालोबजारीको कसुरमा छाड्न आदेश गरे पनि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको जानकारी दिँदै प्रहरीले अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाउने बताए।
प्रहरीले जिल्ला सरकारी वकील कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने क्रममा नै उनीमाथि सम्पत्ति शुद्धीकरण र राजश्व छलीमा पनि अनुसन्धान गर्नुपर्ने व्यहोराको पत्र पठाएको थियो।
सरकारी वकील कार्यालयले पनि उक्त विषयको जानकारीसहित अभियोग पत्र दायर गरेको हो। “उहाँको विषयमा हामीले पनि अनुसन्धान गरिरहेका छौं”, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका एक अधिकृतले भने, “अनुसन्धान भइरहेको मुद्दाका व्यक्तिलाई अहिले छाड्न सक्ने हुँदैन। उनलाई थुनामा राखेर नै आवश्यक अनुसन्धान गरिन्छ।”
विभागका महानिर्देशक रुप नारायण भट्टराईले मुद्दाको मिसिल अहिले आइनसकेकाले के गर्ने भन्ने अहिले नै भन्न नसकिने बताए।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जिल्ला सरकारी वकील कार्यालय मार्फत् पत्र आएको जानकारी दिँदै राजश्व छली भए/नभएको विषयमा आवश्यक अनुसन्धान गरिने देखापढीलाई जानकारी दिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा १६ बैशाखमा मुद्दा दायर गरेको थियो।
उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ। सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताए।
हिजो र आज अदालतमा भएको थुनछेक बहसपछि इजलासले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो।
२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो।
अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरीद गर्ने सहमति गरेर पक्राउ गरेको थियो।
पाँच हजार पर्ने थर्मलगन १५ हजार रूपैयाँमा विक्री गरेको उजुरीपछि प्रहरीले निगरानी थालेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्