स्वास्थ्य सामग्री ल्याउन चीनको चाङ्शा उड्यो हिमालय एअरलाइन्स

काठमाडौं। कोभिड-१९ को उपचार तथा रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एअरलाइन्सको विमान चीनको चाङ्शा उडेको छ ।

हिमालय एअरलाइन्सको न्यारोबडी विमान आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडान भरेको कम्पनीले जनाएको छ।

विमान आज राति १२ बजेर ५ मिनेटमा चाङ्शास्थित हुवानघुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

एअरवस ३२० कलसाइन नाइनए एएलडब्लू कार्गो विमान भोलि, १९ वैशाख बिहान ६ बजेर ४० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडान गरिएको कम्पनीका ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले बताए।

यसअघि १४ वैशाखमा पनि विमानले चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।

उक्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड-१९ को रोकथाम तथा उपचारमा प्रयोग हुने औषधिजन्य सामग्री ल्याउनेछ। रासस

प्रतिक्रिया दिनुहोस्