कोरोना भाइरस संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजिटिभ

कैलाली। धनगढीकी कोरोना भाइरस संक्रमित महिलाको छैटौं रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ। २८ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी-५ की ३४ वर्षीय महिलाको छैटौंपटक गरिएको थ्रोट स्वाब परीक्षणमा कोभिड-१९ पोजिटिभ आएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार २२ चैतमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। हालसम्म सबै रिपोर्ट सबै पोजिटिभ आएको उनले जानकारी दिए।

उनीसँगै अस्पताल भर्ना भएका दुईजना र अन्य दुईजना कोरोना संक्रमित भने निको भएर डिस्चार्ज भइसकेका छन्।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी-५ का ३४ वर्षीय युवक, कञ्‍चनपुरको वेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा-१ की ५० वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

अस्पतालको आइसोलेसमा ती महिलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोभिड-१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए। कोरोनाको रिपोर्ट पोजिटिभ देखिए पनि उनमा कुनै समस्या नभएको उनले जानकारी दिए।

४० दिनभन्दा बढी कोरोना पोजिटिभ देखिएका थुप्रै उदाहरण रहेको बताउँदै डा. कमरले संक्रमित महिलालाई कुनै समस्या नदेखिएका कारण आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।

यो पनि पढ्नुहोस्

कोरोनालाई जितेर छिट्टै घर फर्किन्छुः संक्रमित महिला

प्रतिक्रिया दिनुहोस्