मजदुरलाई सुरक्षित उद्योगमै राखेर काम सञ्चालन गरिने

कपिलवस्तु। मजदुरलाई उद्योगमै राखेर जिल्लाका कलकारखाना सञ्‍चालन गर्न दिइने भएको छ।

भौतिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्‍चालन गर्ने निर्णय भएको हो।

लकडाउन र त्यसले पारेको असरका विषयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको संघीय सांसद, प्रदेशसभा सदस्य, व्यापारी, निर्माण व्यवसायी, सञ्‍चारकर्मी र सुरक्षा निकायका प्रमुखबीचको छलफलमा त्यस्तो सहमति जुटेको हो।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार मजदुरका लागि खाद्यान्‍न र तरकारी ओसारपसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णय भएको छ।

बैठकमा संघ, प्रदेश र पालिकाले शुरु गरेका विकास निर्माणका आयोजनालाई पनि निरन्तरता दिने निर्णय भएको उनले जानकारी दिए।

सांसदहरूले कृषि, विकास निर्माण र आर्थिक गतिविधिलाई निरन्तरता दिन सुझाव दिएका थिए। भारततर्फबाट कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा थप कडाइ अपनाउन पनि उनीहरूले आग्रह गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्