कोरोनालाई जितेर छिट्टै घर फर्किन्छुः संक्रमित महिला

२२ चैतमा कोरोना भाइरस संक्रमण पुष्‍टि भएकी कैलालीको धनगढी-५ की ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पनि पोजिटिभ आएको छ । २८ दिनदेखि सेती अस्पतालमा उपचाररत उनीसँगै उपचार शुरु गरिएका सबै डिस्चार्ज भइसकेका छन् । उनले भनिन्, “अब छिट्टै कोरोनालाई जितेर घर फर्किन्छु ।” देखापढी संवाददाता दीपक नेपालसँग उनले साटेका भावना उनकै शब्दमा :

दुबईबाट फर्किएका देवरलाई कोरोना पुष्‍टि भएको नौ दिन भइसकेको थियो। परिवारका सबै सदस्यको थ्रोट स्वाब संकलन गरेको तेस्रो दिन अस्पतालबाट मलाई फोन आयो, “तपाईंमा कोरोना भाइरसको संक्रमण देखिएको छ, हामी एम्बुलेन्स पठाउँदैछौं।”

त्यसको चार दिनअघि मात्रै धनगढीको क्‍वारेन्टाइनमा बसेर परिवारका सबै सदस्य घर फर्केका थियौं। तर, कोरोना भाइरस देखिएको भनिएपछि घरमै एम्बुलेन्स आयो र म अस्पताल आएँ। कोरोना भाइरसको संक्रमण होला भनेर मलाई विश्वास नै लागेको थिएन । तर, डाक्टरले भनेपछि विश्‍वास गर्नै पर्‍यो ।

आज पनि छैटौंपटक गरिएको नमूना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको खबर पाए। मेरो शरीरमा कोरोनाको लक्षण भने केही पनि नदेखिएको डाक्टरले बताइरहेका छन । न ज्वरो, न त रुघाखोकी नै लागेको छ।

बेलाबेला सम्झिने गर्छु, मलाई त केही पनि भएकै छैन, रिपोर्ट भने पोजिटिभ कसरी आइरहेको छ ? कतै परीक्षणमै त्रुटी त भएको छैन। फेरि सोच्छु एक पटक त त्रुटी भएको होला तर ६-६ पटक कसरी त्रुटी सम्भव छ ? फेरि पनि आफ्नो भाग्यलाई नै दोष दिँदै सम्हालिन्छु।

लम्कीकी ५० वर्षीया महिलाले ११ दिनमा कोरोना जितेर घर फर्किनुभयो। म अस्पताल भर्ना भएको पनि आज २८ दिन पुगिसकेको छ।

मलाई पहिले ग्यास्ट्रिक र एलर्जीको समस्या थियो। सोही कारण मलाई कोरोनालाई जित्न बढी समय त लागेको होइन भन्‍ने पनि लागेको छ।

अस्पतालका डाक्टर, नर्सबाट राम्रो सल्लाह र हौसला पाएकी छु। उहाँहरूले स्वास्थ्यमा कुनै समस्या छैन, छिट्टै घर फर्किनुहुन्छ भन्‍नुभएको छ।

मलाई पनि लाग्छ कोरोनालाई जित्दै म छिट्टै घर फर्किन्छु भन्‍ने लागेको छ । २८ दिन अस्पताल बसेको हुँदा घर र परिवारका सदस्यको याद आउन थालेको छ। घरमा चार वर्षको छोरा र नौ वर्षकी छोरी छन्। उनीहरुको धेरै माया लाग्छ। बेला-बेला फोन गरिरहन्छु।

धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले फोन गरेर नआत्तिनुहोला भन्‍नुभएको छ। त्यसरी कसैले सम्झाउँदा भने आत्मबल बढ्छ। मलाई सबैको आशिर्वाद लागोस् ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरस संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजिटिभ

प्रतिक्रिया दिनुहोस्