कोभिड-१९ परीक्षण किट र पीपीई पठाइदिन प्रदेश १ का जिल्ला अस्पतालका मेसुहरूको माग

विराटनगर। प्रदेश १ का जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कोभिड-१९ को रोकथाम तथा उपचारमा प्रयोग हुने अत्यावश्यक सामग्रीको माग गरेका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको संयुक्त भिडिओ कन्फ्रेन्समा १४ जिल्लामध्ये अधिकांसले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नहुँदा काम गर्न समस्या भएको गुनासो गरे।

मन्त्री घिमिरेले अस्पतालमा अहिले रहेको जनशक्ति तथा प्रविधिको बारेमा जानकारी लिएका छन्।

उनले महामारीको यो बेला कोभिड-१९ परीक्षण तथा स्वास्थ्यकर्मीले सुरक्षाको लागि प्रयोग गर्ने सामग्रीको विश्व बजारमै अभावका बीच ती सामान उपलब्ध गराउनेप्रति प्रदेश सरकार प्रयत्‍त गरिरहेको बताएका छन्।

"स्वास्थ्यकर्मीलगायत जनशक्ति अभाव पूर्तिबारे पनि हामी योजना बनाउँदैछौं। तपाईंहरू ढुक्क भएर काम गर्नुहोस्। केही समस्या भए निर्धक्क भन्‍नुहोस्", अस्पतालका मेसुहरूसँग मन्त्री घिमिरेको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।

सबैभन्दा बढी प्रदेश १ मा ३१ जना कोभिड-१९ का बिरामी भेटिएका छन्। तीमध्ये उदयपुरमा २८, झापामा २ र भोजपुरमा १ जना फेला परेका हुन्।

उनीहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्