कोरोना कहर: क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार नाघ्यो

काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणमा प्रभावकारी मानिएको क्‍वारेन्टाइनमा बस्‍नेको संख्या दिनदिनै बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले आजसम्म देशैभर २४ हजार ९०७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए।

सबैभन्दा बढी प्रदेश ५ मा १२ हजार १६३ जना क्वारेन्टाइनमा बसेका छन्।

त्यस्तै प्रदेश १ मा दुई हजार ८७७, प्रदेश २ मा एक हजार ३३२, बागमती प्रदेशमा ५३८, गण्डकी प्रदेशमा ७०८, कर्णाली प्रदेशमा तीन हजार ७२४ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ५६५ जना क्वारेन्टाइनमा बसेको मन्त्रालयले जनाएको छ।

शुरूआतमा क्वारेन्टाइनामा बस्न नमाने पनि अहिले कोभिड-१९ का बिरामी देखिन थालेसँगै अनिवार्य क्वारेन्टाइनमा बस्न थालेको देवकोटाले बताए।

देशैभर करीब ३४ हजार अट्न सक्ने क्वारेन्टाइन बनेका छन्।

मन्त्रालयका अनुसार आजसम्म देशैभर ६० हजार ३७४ नमूना परीक्षण भएका छन्। त्यसमा पीसीआर विधिबाट १२ हजार ५७७ र आरडीटी किट परीक्षण विधिबाट ४७ हजार ७९७ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

आरडीटी किट परीक्षणअन्तर्गत प्रदेश १ मा पाँच हजार ८९, प्रदेश २ मा पाँचहजार ६१७, बागमतीमा आठ हजार ४९४, गण्डकी प्रदेशमा पाँच हजार ४११, प्रदेश ५ मा चार हजार ३५, कर्णाली प्रदेशमा पाँच हजार ५६७ र सुदूरपश्भिम प्रदेशमा १३ हजार ५८४ जनाको परीक्षण गरिएको छ।

नेपालमा आजसम्म संक्रमितको संख्या ५९ जना पुगेको मन्त्रालयले जनाएको छ।

बाँकेमा ६० वर्षीय पुरुष र रुपन्देहीमा २५ वर्षीय युवकलाई आज संक्रमण पुष्टि भएपछि ५९ पुगेको हो।

अहिलेसम्म १६ जना निको भएर घर फर्किसकेका छन्। ४३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारमा छन्।

प्रतिक्रिया दिनुहोस्