सभापति देउवासहित कांग्रेस शीर्ष नेताकाे आराेप- 'आलमकाे पक्राउ कांग्रेसविरुद्धकाे षड्यन्त्र'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् । उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।

मध्यपुरथिमिको बोडेमा आज कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट शुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, “आलमलाई पक्राउ गरी कांग्रेसविरूद्ध षड्यन्त्र गरेको छ ।”

सोही कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै त्याे अस्वीकार्य रहेको बताए ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमसमेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताउँदै भने, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, कांग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”

कांग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्