संसारलाई सतर्क रहन पर्याप्त समय दिएका थियौंः डब्लूएचओ

जेनेभा । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रस अदानम गिब्रेयससले कोभिड-१९ महामारीबाट सतर्क रहन आफूहरूले संसारलाई पर्याप्त समय दिएको बताएका छन् ।

‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषणा गर्न डब्लूएचओले ढिलाइ गरेको आरोप उनले अस्वीकार गरे ।

डा. टेड्रसले अनलाइन मिडिया ब्रिफिङमा डब्लूएचओले ३० जनवरीमा गरेको घोषणा उपयुक्त समयमा भएको बताए । ‘त्यतिबेला चीनभन्दा बाहिर कोरोना भाइरस संक्रमणका ८२ वटा मात्र केस थिए,’ उनले भने, ‘र, तीमध्ये एकजनाको पनि मृत्यु भएको थिएन ।’

सोही मिडिया ब्रिफिङमा डब्लूएचओ इमर्जेन्सी विभाग प्रमुख माइक रायनले सोमालिया, हैटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सियरा लियोन, उत्तरी नाइजेरियाजस्ता कमजोर आर्थिक अवस्थाका मुलुकमा कोभिड-१९ को महामारी चिन्ताजनक रूपमा बढ्दै गएको बताए ।

कोरोना भाइरस चीनको प्रयोगशालामा उब्जाइएको अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पको दाबी सही नभएको उनले प्रष्‍ट्याए । ‘यो भाइरस प्राकृतिक रूपबाट उत्पन्न भएको हो, कुनै प्रयोगशालामा बनाइएको होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्