अफगानिस्तानमा ‘स्वास्थ्य विपत्ति’: अमेरिकी वाचडग

वासिङ्टन। अफगानिस्तानले कोभिड-१९ का कारण ‘स्वास्थ्य विपत्ति’को सामना गर्नुपर्ने चेतावनी दिइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कमजोर स्वास्थ्य सेवा प्रणाली, कुपोषण, युद्धलगायत जोखिमपूर्ण अवस्थाका कारण अफगानिस्तानको अवस्था भयावह बन्ने चेतावनी अमेरिकी संसद् कंग्रेसलाई बुझाइएको रिपोर्टमार्फत दिइएको हो।

स्पेसल इन्स्पेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्सन (सिगार) जोन सोप्कोले बुझाएको उक्त रिपोर्टमा महामारीले अमेरिकी नेतृत्वमा चलिरहेको शान्ति प्रक्रिया नै अवरुद्ध हुन सक्ने कुरामा सचेत गराइएको छ।

अहिले नै कोभिड-१९ को महामारीले अफगानिस्तान प्रभावित भइसकेको उल्लेख गर्दै रिपोर्टमा शान्ति प्रक्रिया अवरुद्ध भयो भने सीमा बन्द हुने तथा व्यापारिक र मानवीय सेवामा समस्या आउने कुरामा रिपोर्टमा सचेत गराइएको छ।

१० मार्चदेखि शुरु भएको शान्ति प्रक्रियाको सफलताका लागि अमेरिकाले तालिबान र अफगानिस्तानका राष्‍ट्रपति असरफ घानीमाथि जोखिममा रहेका हजारौं लडाकुलाई जेलमुक्त गरिदिन दबाब सिर्जना गरेको छ।

अफगानिस्तानमा करिब दुई हजार दुई सय जनामा कोभिड-१९ पोजिटिभ देखिइसकेको छ। र, ६४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्