भारतको पलियाबाट उद्धारको पर्खाइमा एक सय २८ नेपाली

कैलाली। लकडाउनकै बीच भारतको फिरोजाबादबाट ३३ दिनअघि नेपालसँगको सीमासम्म आइपुग्दा कैलालीको घोडाघोडी नगरपालिका-९ का जयबहादुर थापा कम्ति खुशी थिएनन्। चार सय ५० किलोमिटरको यात्रा पुरा गरिसकेका उनलाई धनगढीबाट करीब ४५ किलोमिटर टाढाको घर पुग्‍न एक घण्टा पनि लाग्दैनथ्यो। तर, उनी ३३ दिनदेखि घरबाट ८० किमि टाढा छटपटाउँदै बसेका छन्, भारततिर नै।

सीमामा भारतीय सुरक्षाकर्मीले थापा र उनका साथीहरूलाई नियन्त्रणमा लिए। र, ४५ किमि टाढाको भारतीय पलिया बजार पुर्‍याइए। ३३ दिनदेखि त्यहाँस्थित वैदिक इन्टरकलेजको क्‍वारेन्टाइनमा घर फर्किने दिन गन्दै बसिरहेका छन्।

उनीसँगै त्यहाँ पुर्‍याइएका ५६ सहित एक सय २८ जना नेपाली क्‍वारेन्टाइनमा छन्, जहाँ हिजो भारतका विभिन्न भागबाट आएका २२ जनासमेत थपिएका छन्।

‘यता हामी छटपटिएका छौं, उता परिवारका सदस्यहरू,’ उनी भन्छन्, ‘हाम्रो समस्या कसले सुनिदिने हो ?’

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय प्रशासनले अन्तर्राष्ट्रिय सीमा खोल्न नेपाल र भारत सरकारबीच सहमति हुनुपर्ने बताउँदै आएका छन्। ‘काठमाडौंसम्म हाम्रो आवाज कसले पुर्‍याइदिने ?’

धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार ६ सय नेपाली नागरिक स्वदेश फर्किन पाएको खबर सुनेर उत्साही भएका छन्, उनीहरू। आफूहरूलाई पनि दुई देशबीच सहमति भएर स्वदेश फर्काइने आशामा छन्।

कैलालीकै लम्की चुहा नगरपालिका-१ बसपार्कका केशव तिमिल्सेनाको पीडा पनि उस्तै छ। सीमामा आइसकेका आफूहरूलाई भारतीय सुरक्षाकर्मीले अपराधीझैं नियन्त्रणमा लिएर पलियाकामा उनी दुःखी छन्।

‘यहाँ दुई साता क्‍वारेन्टाइनमा राखेपछि घर जान दिने भनिएको थियो,’ उनी भन्छन्, ‘तर, ३३ दिन पुगिसक्दा पनि कसैले हाम्रो समस्या सुनेन।’

क्‍वारेन्टाइनमा चार महिला र तीन बालबालिका पनि छन्। आठ महिनाका बालकसहित गुजरातबाट गाडी रिजर्भ गरेर कञ्‍चनपुरस्थित घरनजिकै पुगेका उनीहरूलाई त्यहाँबाट फर्काएर पलिया पुर्‍याइएको उनीहरू बताउँछन्।

‘क्‍वारेन्टाइनमा बस्नुपर्ने दुई साता हो। हामी त पाँच साता बसिसक्यौं,’ सुर्खेत चौकुनेका मानबहादुर बिक भन्छन्, ‘हाम्रो समस्या काठमाडौंमा सुनाइदिनुहोला।’

आफूहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएकामा उनीहरू ढुक्क छन्। तर, दिनदिनै थपिइरहेका मानिसबाट भयभित पनि छन्।

एउटै हलमा ४५ जना लहरै सुत्छन्। कोठाहरूमा पनि पाँचदेखि १० जनासम्म सुत्छन्। सबैको खाना खाने ठाउँ एउटै छ। अनि, शौचालय र धारा पनि एउटै। सोही कारण कोही संक्रमित आइपुगे सबैलाई सर्ने त्रासमा छन्, उनीहरू।

थापाका अनुसार नयाँ आएका मानिसले आफू कहाँबाट आएको भन्‍ने पनि खुलाउँदैनन्। ‘मुम्बईबाट आएकाहरू पनि बरेली र लखनउबाट आएको बताउँछन्,’ उनी भन्छन्।

३३ दिनदेखि उनीहरू कलेजबाट बाहिर जान पाएका छैनन्। र, उनीहरूका समस्या सुन्न र बुझ्‍न बाहिरबाट पनि कोही भित्र आएका छैनन्। दिउसो चिन्ताले र राति लामखुट्टेले दुःख दिने भएकाले उनीहरू राम्रोसँग सुत्‍न पनि पाउँदैनन्।

भारतीय प्रशासनले उनीहरूलाई दाल, भात, दाल र पुरी दिने गरेको छ। पिउने पानी ट्यांकरमार्फत उपलब्ध गराउँछ।

पलियाका भाजपा नेता रवि गुप्ता र सुरक्षाकर्मीहरूले हिजो उनीहरूको अवस्थाबारे जानकारी लिए। र, हिजै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई फोन गरेर तत्काल आफूहरूलाई उद्धार गर्न आग्रह गरे।

उनीहरूको अवस्थाबारे जानकारी दिएर प्रदेश र संघीय सरकारसँग उद्धारका लागि पहल गर्न आग्रह गरिएको प्रजिअ बोहराले बताए। ‘केही दिनभित्रै पलियामा रहेका नेपालीहरूको उद्धार गरिने छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्