काेराेना कहर: समस्यामा छन् परदेशिएका नेपाली

काठमाडाैं। संसार नै यतिबेला कोरोना कहरसँग जुधिरहेको छ। यो समाचार तयार पार्दासम्म झण्डै ३४ लाख दुई हजार बढी नागरिकमा कोरोना संक्रमण भइसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले छ।

यस्तै दुई लाख ३९ हजार ६२२ को मृत्यु भएको छ। कूल १० लाख ८३ हजार ९०१ भने निको भएर घर फर्केका छन्।

कोरोनाको इपिसेन्टरका रूपमा अहिले पनि संयुक्त राज्य अमेरिका नै छ। अमेरिकामा कूल ११ लाख ३१ हजार ४९२ लाई कोरोना संक्रमण भएको छ। आज मात्रै ४६२ मा नयाँ संक्रमण देखिएको छ।

कूल ६५ हजार ७७६ को मृत्यु भएको छ। युरोपेली देश स्पेनमा दुई लाख ४२ हजार ९८८ संक्रमित हुँदा २४ हजार ८२४ को मृत्यु भएको छ।

इटालीमा दुई लाख सात हजार ४२८ लाई कोरोना लाग्दा २४ हजार ८२४ को मृत्यु भएको छ। बेलायतमा कूल एक लाख ७७ हजार ४५४ लाई कोरोना लाग्दा २७ हजार ५१० को ज्यान गएको छ। फ्रान्समा कूल एक लाख ६७ हजार ३४६ लाई कोरोना लाग्दा २४ हजार ५९४ को ज्यान गएको छ।

जर्मनीमा कूल एक लाख ६४ हजार ७७ लाई कोरोना लागेकामा ६ हजार ७३६ को ज्यान गएको छ। बेल्जियमममा ४९ हजार ३२ लाई कोरोना लाग्दा सात हजार ७०३ को मृत्यु भएको छ।

नेदरल्याण्डमा ३९ हजार ७९१ लाई कोरोना लाग्दा चार हजार ८९३ को ज्यान गएको छ। स्वीटजरल्याण्डमा कूल २९ हजार ७०५ लाई कोरोना लाग्दा एक हजार ७५४ को ज्यान गएको छ। कोरोनाको इपिसेन्टर बनेको युरोपेली देशमा रहेका नेपालीसमेत कोरोनाबाट नराम्ररी प्रभावित भएका छन्। उनीहरूको रोजगारी खोसिएको छ।

विद्यार्थी सबैभन्दा बढी मारमा

अध्ययनका लागि गएका विद्यार्थी सबैभन्दा बढी समस्यामा परेका छन्। बेलायतमा कोरोनाका कारण हालसम्म ३५ जनाको ज्यान गएको छ। विदेशमा कूल दुई हजार २५० नेपाली कोरोनाबाट प्रभावित भएका छन्। गैरआवासीय नेपाली संघका अनुसार ५० नेपालीको जयान गएको छ। त्यसमा अमेरिका र बेलायतमा रहेका नेपाली सबैभन्दा बढी प्रभावित भएका छन्।

पछिल्लो विवरणअनुसार अमेरिकामा मात्रै एक हजार बढी नेपाली कोरोनाबाट प्रभावित भएका छन्। त्यस्तै तथ्यांक छ बेलायतको पनि। बेलायतमा एक हजार बढी कोरोना संक्रमित हुँदा ३५ नेपालीको ज्यान गएको छ। कोरोना कहरका कारण अमेरिकामा विद्यार्थीको प्रवेशाज्ञा लिएर गएका नेपाली सबैभन्दा बढी समस्यामा परेका छन्। त्यहाँको सरकारले प्रदान गर्ने राहतसमेत उनीहरूले नपाउने अवस्था रहेको छ। उनीहरू कामसमेत नपाएकाले चर्को आर्थिक मारमा परेका छन्।

त्यस्तै आधिकारिक कागजात नभएका नेपाली पनि समस्यामा परेका छन्। विभिन्न प्रवेशाज्ञा लिएर विदेश पुगेका नेपालीसमेत समस्यामा परेको पाइएको गैरआवासीय नेपाली संघको भनाइ छ। कोरोना महामारीले अमेरिकालगायत क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा एनआरएनले छलफल गरेको थियो। संक्रमणले ५० भन्दा बढी गैरआवासीय नेपालीको मृत्यु भएको र दुई हजार ५०० भन्दा बढी नेपाली कोरोना संक्रमित भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए।

कोरोना महामारीको प्रकोप कहिलेसम्म रहने हो अहिल्यै भन्न सक्ने अवस्था नभएकाले अहिल्यै केही भन्न सकिने अवस्था छैन। अध्यक्ष पन्तले भने, “त्यसका लागि सबैजना मिलेर जान र सबै संयन्त्र परिचालन गर्नु जरूरी छ।”

यस्तै क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिड-१९ शुरू भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्बन्धी गतिविधि शुरू गरेको जानकारी दिए। उनका अनुसार महामारीको अवस्थामा पनि दूतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाएको र नेपाली समुदायको हितका लागि २४सै घण्टा टेलिफोन तथा इमेल सेवा सञ्चालन गरिएको छ।

संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा. अर्जुन कार्की महामारीपछि अमेरिकामा रहेका नेपालीप्रति दूतावास चिन्तित रहेको उल्लेख गरे। उनले अमेरिकामा रहेका नेपालको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको र विद्यार्थीलगायत नेपाली समुदायमा रहेको मुख्य समस्या पहिचान गरी समाधानको प्रयास गरिएको बताए।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार कोरोना भाइरस प्रभावित ४५ देशमा ९०० भन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीले राहत पाएका छन्।

एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार युरोपका विभिन्न देशमा रहेका नेपालीका लागि भनेर कूल १० हजार युरो बराबरको राहत संकलन गरिएको छ। उनले आगामी दिनमा देखिने समस्या समाधानका लागि समेत आफूहरू प्रयासरत रहेको बताए।

कोरोना महामारीले रोजीरोटी खोसिएको छ भने बेरोजगारीको चरम समस्या देखिएको छ। साना व्यवसायीलाई कूल चार हजार युरो बराबरको प्याकेज घोषणा भए पनि ठूला होटल तथा रेष्टुरेन्ट सञ्चालकका लागि भने हालसम्म कुनै राहत प्याकेज घोषणा भएको छैन।

“खाडी मुलुक, साइप्रसजस्ता देशमा केही राहत उपलब्ध गराउनेतर्फ लागेका छाैं,” उनले भने, “साइप्रसमा तीन हजार डलर र खाडी मुलुकमा पाँच हजार डलर सहयोग उपलब्ध गराउने सोचका साथ काम भएको छ।” तत्कालका लागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन लागिपरेको उनको भनाइ छ।

विशेषगरी बेलायतमा भूतपूर्व गोरखा सैनिकलाई बढी समस्या परेको छ। वृद्ध उमेरका उनीहरू बढी जोखिममा रहेको पाइएको छ।

यस्तै नेपाली समस्या नपर्दासम्म सम्पर्कमा नआउने, आफ्नो स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी नदिने अवस्था पनि रहेको छ। गैरआवासीय नेपाली संघले नेपाली रादूतावाससँग मिलेर काम गरिरहेको जानकारी दिँदै सहकोषाध्यक्ष दाहालले भने, “नङ र मासुको जस्तै सम्बन्ध स्थापित गरेर हामीले काम गरिरहेका छौँ। आगामी दिनमा आउने सङ्कटलाई समाधान गर्नेतर्फ पनि हामीले पहलकदमी लिएका छौँ।”

प्रवेशाज्ञा सकिएकाको हकमा पनि समस्या समाधानका लागि प्रयत्न जारी रहेकाे उनी बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस्