दमौली अस्पतालमा स्वाब संकलन बुथ सञ्‍चालन
तनहुँ। कोभिड-१९ का शंकास्पद व्यक्तिको स्वाब संकलनका लागि तनहुँको दमौली अस्पतालमा निर्माण गरिएको बुथ सञ्चालनमा आएको छ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक व्यास नगरपालिका–४ का विकल्प ढुंगानाले निर्माण गरेकाे बुथ सञ्चालनमा ल्याइएको हो।

ढुंगानाले एक हप्ताको अवधिमा उक्त बुथ निर्माण सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरेका हुन्। “बुथको सम्पूर्ण काम सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिएको छ”, उनले भने, “बुथ सञ्चालनका लागि तयारी अवस्थामा छ।”

बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज (पीपीई) नलगाइकन पनि कोभिड-१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न सक्छन्। स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको ढुंगानाले बताए।

बुथ निर्माणको सम्पूर्ण खर्च अस्पताल विकास समितिले बेहोरेको छ। बुथ निर्माणका लागि करीब ५० हजार रूपैयाँ खर्च भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए।

बुथ निर्माण सम्पन्न भएकाले चिकित्सकले कोभिड-१९ का शंकास्पद बिरामीको स्वाब संकलन अब बुथभित्रै बसेर गर्नेछन्। “बाहिरको जीवाणु भित्र नजाने गरी बुथ निर्माण गरिएको छ। यो सुरक्षित भएकाले स्वास्थ्यकर्मी पनि ढुक्क भएर सेवा प्रवाहमा लाग्न सक्नेछन्”, अधिकारीले भने।

दमौली अस्पतालले शंकास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ।

तनहुँमा हालसम्म २० जनाको स्वाब परीक्षण भइसकेको छ। तीमध्ये १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी चारजनाको रिपोर्ट आउन बाँकी छ।

ढुंगानाले नै निर्माण गरेको स्यानिटाइजर टनेलसमेत दमौली अस्पतालमा सञ्चालनमा आइसकेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्