काेभिड-१९ का कारण न्यूयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु

न्यूयाेर्क। अमेरिकाको न्यूयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ।

उनीहरू सबैको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असम्भव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन”, न्यूयोर्कका मेयर बिल डे ब्लासियोले भने। एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनकाे भनाइ छ।

ती मृत्यु भएका मध्ये १३ जनाको हिजाे मात्रै मृत्यु भएको नर्सिङ होमद्वारा जारी वक्तव्यमा जनाइएको छ।

नर्सिङ होममा मृत्यु भएकाहरूको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ। कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने डरले उनीहरूको शव अहिले यत्तिकै राखिएको छ।

न्यूयोर्कलाई कोरोना भाइरसको केन्द्रविन्दु मानिएको छ। कोरोना भाइरस फैलिन थालेदेखि नै न्यूयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै छ।

अमेरिका अहिले कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सबैभन्दा अग्रस्थानमा पर्दछ।

आज दिउँसोसम्मको विवरणअनुसार अमेरिकामा कूल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ।

त्यसैगरी कूल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ। ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन्।

अमेरिकामा अहिले पनि देशभर ९ लाख चार हजार १५३ जना संक्रमित अवस्थामै छन्।

तीमध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

विश्वभर कूल संक्रमितको संख्या भने ३४ लाख १४ हजार २७ रहेको बेला कूल मृतकको संख्या दुई लाख ३९ हजार ७७७ छ। रासस/एपी

प्रतिक्रिया दिनुहोस्