काेभिड-१९ विरूद्धकाे लडाइँमा सघाउन जर्मनीले २० हजार थान पीसीआर परीक्षण किट दिने

काठमाडाैं। जर्मनीले कोभिड-१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पीसीआर परीक्षण किट उपलब्ध गराउने भएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पीसीआर परीक्षण किट प्रदान गरिएकाे जनाएकाे छ।

यहाँस्थित संघीय गणतन्त्र जर्मनीको राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पीसीआर परीक्षण किट र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ। आजै तीन हजार थान पीसीआर किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट संक्रमण भए/नभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरूप ती उपकरण उपलब्ध गराइएको बताउका छन्।

यसैबीच जर्मनीले कोभिड-१९ प्रतिकार्यमा सघाउन जर्मन विकास सहयोगमार्फत् नेपाली–जर्मनी स्वास्थ्य परियोजनाका लागि जर्मनीको आर्थिक सहयोग मन्त्रालयबाट अतिरिक्त लगानी गर्ने जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्