बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, संसद अधिवेशनबारे छलफल

काठमाडौं। मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार नियमित काम कारबाहीका बारेमा बैठकमा छलफल हुनेछ।

आजको मन्त्रिपरिषद् बैठकमा संसद अधिवेशन बोलाउनेबारे पनि छलफल हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टी सचिवालयको बैठकमा संसद् अधिवेशन बोलाउन लागेको जानकारी गराएका थिए। त्यही भएर आजको बैठकमा सो अजेण्डा रहेको बताइएको छ।

सामाजिक दूरी कायम गरेर संसद बैठक बस्न सक्ने गरी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर केहीदिन अघि प्रधानमन्त्रीले संघीय संसद भवनको निरीक्षण गरी परामर्श लिएका थिए।

१५ जेठमा आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ।

त्यस्तै आजको बैठकमा लकडाउन अवधि थप्ने/नथप्ने र कोभिड-१९ रोकथाम नियन्त्रणमा भइरहेका अहिलेसम्म भएगरेका कामको समिक्षा र भावी रणनीतिको विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्