किन शतप्रतिशत बढ्यो अण्डाको मूल्य ?

काठमाडौं। बजारमा माग बढेपछि अण्डाको मूल्य प्रतिक्यारेट १५० रूपैयाँ बढेको छ।

लकडाउनको शुरूआती दिनमा प्रतिक्यारेट १५० रूपैयाँमा बिक्री हुँदै आएको अण्डाको भाउ अहिले शतप्रतिशत बढेर ३०० रूपैयाँ पुगेको छ।

बजारमा माग बढ्दै गएपछि कृषकले नै अण्डाको मूल्य बढाएका हुन्। कृषकले व्यापारीलाई अण्डा बेच्दा नै प्रतिक्यारेट २८० रूपैयाँ लिन थालेका छन्।

ह्याचरी उद्योग संघका अध्यक्ष टिका पोखरेलले उत्पादन घट्दै गएको र माग बढ्दै गएपछि मूल्य बढ्नु स्वभाविक भएको बताए।

उनले भने, “देशमा भएका ३२४ वटै ह्याचरीले उत्पादन घटाएका छन्। कतिपय ह्याचरीले त उत्पादन नै गरेका छैनन्।”

यस्तै, भारतमा अण्डा र मासुको मूल्य बढेकाले सीमा क्षेत्रमा नेपाली अण्डाको खपत बढेको उनले बताए।

यसअघि नेपालको भन्दा सस्तो भएकाले भारतमा उत्पादित सेतो अण्डा प्रयोग हुने सीमा क्षेत्रमा अहिले नेपालमा उत्पादित रातो अण्डाको माग बढेको छ।

यसले पनि अण्डाको भाउ बढाउन सहयोग गरेको भन्दै पोखरेलले बताए अझ बढ्न सक्ने आँकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्