उत्तर कोरियाली नेता पुनः सार्वजनिक हुँदा ट्रम्प दंग

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उन पुनः सार्वजनिक जीवनमा फर्केकामा आफू हर्षित भएको बताएका छन्।

‘उनी पुनः स्वस्थ अवस्थामा सार्वजनिक जीवनमा देखिएकामा म हर्षित छु,’ ट्रम्पले ट्विटमार्फत भनेका छन्, ‘उनी फेरि फर्केका छन् र राम्रो अवस्थामा देखिँदा खुशी लागेको छ।’

नेता किम एक मल उद्योगको उद्घाटन समारोहमा उपस्थित भएका तस्वीरहरू सार्वजनिक भएपछि ट्रम्पले खुशी व्यक्त गरेका हुन्। उनी तीन साताको गुप्तवासपछि सार्वजनिक फर्केका हुन्।

गत १५ अप्रिलमा आफ्ना हजुरबा किम इल-सुङको जन्म जयन्ती समारोहमै अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्‍न अड्कलबाजी सार्वजनिक भएका थिए।

राष्‍ट्रपति ट्रम्प र नेता किमबीच पछिल्लो वर्षमा अनौठो सम्बन्ध गाँसिएको मानिन्छ। सन् २०१८ यता दुई नेताले तीनपटक भेटघाट गरिसकेका छन्।

दुवैले व्यक्तिगत पत्र पनि आदानप्रदान गर्दै आएका छन्, जसलाई ट्रम्पले ‘अत्युत्तम’ भन्‍ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्