भारतबाट फर्किएका एक युवा क्वारेन्टाइनमा राख्न खोज्दै गर्दा नदीमा वेपत्ता

मुगु। क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन्।

मुगु खत्याड गाउँपालिका-१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक हिजो नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो।

२० वैशाखमा बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थिए।

बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा बसाउन खोज्दा त्यहाँ बस्न नमानेपछि हिजो पालिकाका अन्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने सल्लाहअनुसार उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए।

“हिजो बिहान ११ बजे पालमा बसेकामध्ये विकका दाजुसहित तीन जना नुहाउन गएका थिए, विक नदीमा बेपत्ता भएपछि उनका दाजु र अर्का व्यक्ति दौडँदै कर्णाली नदीमा बेपत्ता भएको खबर गराएका थिए”, गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाले बताए।

कर्णाली नदीको छेउमा विकका कपडा भेटिएको र नुहाउँदा दाजुसमेत सँगै भएकाले विक नदीमा बेपत्ता भएकै हुनसक्ने अनुमान गरिएको छ।

उनलाई खोज्न नदी किनारमा बाजुरा, कालीकोट र मुगुका प्रहरी खटिएका छन्।

नुहाउँदा बेपत्ता भए वा आइतबारदेखि क्वारेन्टाइनमा बस्नुपर्छ भनेर लुगा छोडी कतै भागे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताएका छन्।

बाँकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्