नेपालगञ्जमा थप परीक्षण गर्न स्वास्थ्य सामग्रीसहित जनशक्ति पठाइयो, संक्रमित देखिएको र आसपासका क्षेत्र पूर्ण रूपमा 'सिल'
काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-८ महेन्द्रपार्कस्थित अन्सारी टोलमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन त्यहाँ थप स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम फैलिन नदिन र सम्भावित संक्रमितको खोजी गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित जनशक्ति परिचालन गरेको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्रप्रसाद श्रेष्ठले हिजो, २१ वैशाख बेलुका नै त्यहाँ पीसीआर परीक्षण किट, पीपीईलगायत आवश्यक सामग्रीसहित टोली पठाइएको बताए।

“अहिले बिहान टोली त्यहाँ पुग्छ”, उनले भने, “आजसम्म परीक्षण गर्न सामान भएपनि हामीले परीक्षणको दायरा बढाउन थप पठाएका छौं।”

प्रदेश सरकारले पनि नेपालगञ्जमा एकैदिन १५ जनामा संक्रमण देखिएपछि त्यहाँ परीक्षण बढाएर थप उच्च सतर्कता अपनाउन आवश्यक काम भइरहेको जनाएको छ।

हिजो बेलुकी नै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सामग्रीसहितको टोली खटिइसकेकोले नआत्तिकन र संक्रमितको सम्पर्कमा रहेका सबैजनालाई
परीक्षणमा सहभागी हुन आग्रह गरेका थिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले १९ वैशाखमा ६० वर्षीय एक पुरुषमा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना संकलन गरेर स्वाब परीक्षण गर्दा एकैदिन १५ जनामा संक्रमण पुष्टि भएको बताए।

“पहिलो संक्रमित देखिएपछि तत्कालै परीक्षणको दायरा बढाउन ९० जनाको नमूना संकलन गरेर परीक्षण गरिएको हो”, उनले भने, “त्यसमध्ये १५ जनामा हिजो संक्रमण पुष्टि भएको छ।”

सीडीओ खड्काले हिजो संक्रमण देखिएका मानिसहरुको 'कन्ट्याक्ट ट्रेसिङ' गर्ने काम थालिएको बताए।

“हिजो संक्रमित व्यक्तिहरूको 'कन्ट्याक्ट ट्रेसिङ' थालिएको छ”, उनले भने, “ती सम्पर्कमा आएका व्यक्तिहरुको आज हामी स्वाबको नमूना संकलन गरेर परीक्षण गर्ने तयारी गरिरहेका छौं।”

खड्काले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न परीक्षणको दायरा बढाउनेदेखि आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति परिचालनका विषयमा संघीय र प्रदेश सरकारसँग समन्वय भइरहेको बताएका छन्।

स्वास्थ्यकर्मीहरू नमूना परीक्षण गरिएका र बाँकी रहेकामध्ये केहीमा थप संक्रमण हुन सक्ने बताउँछन्।

भेरी अञ्चल अस्पतालका अनुसार नमूना संकलन गरिएकामध्ये ६० जनाको स्वाब परीक्षण भइसकेको छ। अन्यको परीक्षण हुने क्रममा रहेको छ।

एकैदिन १५ जना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले संक्रमित र आसपासका सबै क्षेत्र पूर्ण रूपमा 'सिल' गरिसकेको छ।

सीडीओ खड्काले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। उनका अनुसार संक्रमित देखिएपछि स्थानीयहरु पनि आफैं सचेत भएर सतर्कता अपनाउन थालेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्