'वेक अप कल': कोभिड-१९ बाट निधन भएकी ७५ वर्षीया महिलाको अन्तिम तस्वीर

लन्डन। उत्तर आयरल्यान्डको कम्ब्रिया अस्पतालमा कोभिड-१९ को उपचार गराइरहेकी एक वृद्धाले छोरीलाई पारिवारिक तस्वीर लिन अह्राइन्। त्यही उनको जीवनको अन्तिम तस्वीर बन्यो। तर, उनको जीवनको अन्तिम तस्वीरले कोभिड-१९ विरुद्ध जाग्‍न संसारलाई शक्तिशाली सन्देश दिएको छ।

एन्ट्रिम काउन्टीको न्युटाउनब्बीकी ७५ वर्षीया जोआन राइटले उनकी छोरी डेबोरा बुचाननलाई उक्त तस्वीर खिच्‍न लगाएकी थिइन्। बुचाननले फेसबुकमा उक्त तस्वीर पोस्ट गरिन्, जसले कोभिड-१९ को खतरनाक वास्तविकता संसारसामु उदांगो बनाइदियो।

तस्वीरमा जीवनको अन्तिम क्षणमा ७५ वर्षीया जोआन बेडमा सुतिरहेकी छन्। र, उनको वरिपरि परिवारका सबै सदस्य गोलबद्ध छन्। सबैले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पहिरेका छन्।

डेबोराका पिता अहिले पनि अस्पतालमै छन्। श्रीमानको हात पक्रिँदै जोआनले संसार त्यागिन्। वरिपरि परिवारका सदस्यहरू थिए।

‘हामीले आमाले अन्तिम सास लिँदै गरेको त्यो कहालीलाग्दो क्षण देख्यौं, उहाँले हामीलाई टुहुरो बनाएर संसार त्याग्‍नुभयो,’ डेबोराले फेसबुकमा लेखेकी छन्। उनको यो पोस्ट चार हजारभन्दा बढी सेयर भएको छ।

‘आफूले जीवनकै निकृष्‍टतम क्षण महसुस गरिरहेको मेरा पिताले बताउनुभयो। यदि अब पनि हामी जागेनौं भने उनको आँशु खेर जानेछन्,’ डेबोराले लेखेकी छन्, ‘मेरा पिता अझै पनि अस्पतालमा हुनु हुन्छ। पत्नी गुमाएको पीडाले उहाँको हृदयमा चिरा परेको छ तर कोरोना भाइरसविरुद्ध लड्ने साहस जुटाइरहनुभएको छ।’

यही नै कोरोना भाइरस संक्रमणको वास्तविकता भएको उनले बताएकी छन्। ‘जागौं र समझदार बनौं। यो भाइरस सजिलै टाढा जानेवाला छैन,’ उनले भनेकी छन्, ‘यसले हाम्रै मातापिता, हजुरबा-हजुरआमा अनि प्रिय परिवारका सदस्यलाई शिकार बनाउने हो। त्यसैले उनीहरू सबैको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।’

२० अप्रिलमा ७५ वर्षीया जोआन दम्पतीलाई नै कोभिड-१९ पोजिटिभ देखिएको थियो। तत्काल दुवैलाई अस्पताल भर्ना गरियो। अस्पतालले गत बुधबार एकाएक कल गरेर बोलायो। र, सबैलाई पीपीई पहिरिन लगाइयो। बुचाननका अनुसार उनका मातापिता ५० वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। सक्रिय जीवनबाट अवकाशपछि दुवै १५ वर्षअघि कम्ब्रियामा बसाइँ सरेका थिए।

प्रतिक्रिया दिनुहोस्