महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा दर्ता गराए उजुरी

काठमाडौं। नेकपाका सांसदद्वय महेश बस्‍नेत र किसान श्रेष्‍ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्‍ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन्।

आज आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई भेटेर तीनैजनाले उजुरी दिएको आयोगका प्रवक्ता सचिव वेद भट्टराईले जानकारी दिए। तीनैजनाले दिएको उजुरी आयोगमा दर्ता भएको छ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवसहितका नेताले अपहरण र शरीर बन्धकको आरोप लगाएर आफूहरूको मानमर्दन गरेको र प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धि मुद्दा दायर गर्न जाँदा जाहेरी नलिएको भन्दै तीनैजनाले आयोगमा उजुरी दिएका हुन्।

आयोगका प्रवक्ता भट्टराईले उजुरी अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए। यसअघि जसपाका सांसद यादवको उजुरीमाथि आवश्यक अध्ययन गरेर आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्नु नपर्ने कारण के हो लेखी पठाउन पत्राचार गरिसकेको छ। प्रहरी कार्यालयबाट प्रत्युत्तर आइनसकेको आयोगले जनाएको छ।

जसपाका सांसद डा. सुरेन्द्र यादवले तीनैजनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाहेरी दर्ता गर्न गए पनि दुवै कार्यालयले जाहेरी दर्ता गरेर फर्काइदिएको थियो।

त्यस्तै अपहरणको झुट्टो मुद्दा बनाएर मानमर्दन र बेइज्जत गरिएको भन्दै तीनैजनाको तर्फबाट नेकपाको युवा संगठन र विद्यार्थी संगठनले पनि साइबर अपराधअन्तर्गत चारजनाविरुद्ध जाहेरी दर्ता गर्न खोजेका थिए। उक्त जाहेरी पनि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता नगरेर फर्काइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्