विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने

काठमाडाैं। सरकारले कोभिड-१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाएको छ।

श्रम रोजगार पत्रकार समूहले आज गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड-१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए।

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उनको भनाइ छ। विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क संकलन शुरू भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए।

महामारीको बेला आपतमा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै उनले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरे। “हाल अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ, सबैलाई एकै चोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन”, मन्त्री ज्ञवालीले भने, “उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याउँछाैं।”

अहिलेको विषम परिस्थितिमा आपतमा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उनले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताए। “जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुराहरूलाई योजना बनाएर मात्र काम शुरू गर्नुपर्नेछ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गरेका छौँ”, मन्त्री ज्ञवालीले भने।

विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना संक्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उनले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिए।

सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको भन्दै उनले नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको बताए। “कतिपयको करार अवधि सकिएको छ, भिसा अवधि सकिएको छ, ती देशले तत्काल समाधान गरी भिसा थप गरिदिएका छन्”, मन्त्री ज्ञवालीले भने, “संक्रमितलाई आफ्ना नागरिकसरह उपचार सुविधा दिन अनुरोध गरिएको र ती देशले आफ्ना नागरिकसरह नै उपचार गरेका छन्। कहीँकतै असुविधा भएको जानकारी आएको छैन।”

कार्यक्रममा श्रम आप्रवास विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए। उनले अलपत्र कामदारको उद्धारका लागि संयन्त्र बनाउनुपर्ने साथै गन्तव्य मुलुकमा रहेका नेपालीमा कोरोनाको परीक्षण र उपचारमा ध्यान दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। रासस

प्रतिक्रिया दिनुहोस्