नेपालगञ्जकाे रक्तसञ्चार केन्द्रमा रगत अभाव

नेपालगञ्ज। चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्‍जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ।

दशैं अवधिमा रक्त सङ्कलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए।

सामान्य अवस्थामा तीन सय पिन्टभन्दा माथि नै रगत मौज्दात रहने भए पनि अहिले त्यो भन्दा कमी भएकाले रक्तदातालाई आह्वान गरेको उनले जानकारी दिए।

“दुई दिनयता रक्तदानका कार्यक्रम शुरु भएका छन्, अब मौज्दात बढ्दै गएको छ,” प्रमुख रेग्मीले भने, “रगतको अभाव हुन नदिन रक्तदातालाई अनुरोध गरेअनुसार सङ्कलन हुन थालेको छ।”

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको संख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्‍जले जनाएको छ।

दैनिकरूपमा नेपालगञ्‍जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए।

सबभन्दा धेरै भेरी अञ्‍चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्‍ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको उनले बताए।

नेपालगञ्‍जमा ठूला–साना गरी करीब २४ अस्पताल सञ्चालनमा छन्।

रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै सङ्कलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरूको ध्यान हुने गरेको प्रमुख रेग्मीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्