कोभिड-१९: विदेशमा फसेका नागरिक फिर्ता गर्दै भारत

नयाँदिल्ली। कोभिड-१९ को महामारीका कारण संसारभर लकडाउन जारी रहँदा विदेशमा अलपत्र परेका आफ्ना नागरिक भारतले फिर्ता ल्याउने भएको छ।

उनीहरूलाई फिर्ता ल्याउन केन्द्र सरकारले अनुमति दिएको छ। हवाई जहाज तथा नौसेनाका जहाजमार्फत भारतीय नागरिकलाई फिर्ता ल्याउन सरकारले निर्देशन दिएको छ।

त्यसका लागि सूची तयार भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। स्वदेश फर्किने खर्च भने यात्री स्वयंले व्यहोर्नुपर्ने मन्त्रालयको भनाइ छ।

विमानमा चढ्नुअघि यात्रीको मेडिकल स्क्रिनिङ गरिने छ। जसको शरीरमा कोरानाको लक्षण देखिँदैन, उसले मात्र स्वदेश फर्किन पाउने छ।

गन्तव्यमा पुगेपछि सबै यात्रीको फेरि जाँच गरिने छ। र, १४ दिनसम्म अनिवार्य क्‍वारेन्टाइनमा राखिने छ।

१४ दिन बितेपछि पुनः कोभिड-१९ जाँच गरिने छ। अनि मात्र घर पुग्‍न पाउने छन्। यो प्रक्रिया ७ मेदेखि शुरु हुने विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्