कोरोना भाइरसलाई पराजित गर्ने एन्टिबडी तयार पारेको वैज्ञानिकहरूको दाबी

वासिङ्टन। वैज्ञानिकहरूले कोरोना भाइरसलाई पराजित गर्न सक्ने एन्टिबडी सिर्जना गर्न सफलता मिलेको दाबी गरेका छन्। वैज्ञानिकहरूको उक्त कदम महामारीको प्रसार रोक्ने प्रयत्‍नमा प्रारम्भिक तर आशाजनक कदम मानिएको छ।

प्रयोगशालामा गरिएको सेल कल्चरमा उक्त एन्टिबडीले कोरोना भाइरसको असरलाई निस्तेज बनाइदिएको छ। तथापि, यो औषधी उत्पादनको प्रारम्भिक चरण मात्र हो। पशु र मानिसमा परीक्षणपछि मात्र औषधी विकासको प्रक्रिया अगाडि बढ्ने छ।

यदि प्रयोगशालामा जस्तै सफलता पशु र मानवमा गरिने परीक्षणमा पनि मिल्यो भने कोभिड-१९ को उपचारका लागि मद्दत मिल्ने वैज्ञानिकहरूको भनाइ छ। नेचर कम्युनिकेसन्समा प्रकाशित रिपोर्टअनुसार पशु र मानवमा गरिने परीक्षणपछि मात्र कस्तो औषधी कोरोना भाइरसविरुद्ध उपयोगी हुन्छ भन्‍ने पत्ता लाग्‍नेछ।

नेदरल्यान्ड्सको युट्रेज युनिभर्सिटीका बेरेन्ड-जन बोस र साथीहरूले एन्टिबडीले कति सटिक रूपमा कोरोना भाइरसविरुद्ध काम गर्छ भन्‍ने हेर्न थप परीक्षण आवश्यक भएको बताएका छन्।

वैज्ञानिकहरूले उक्त एन्टिबडीलाई नाम दिएका छन्, ‘४७डी११’। यसले स्पाइक प्रोटिनमाथि आक्रमण गर्छ। स्पाइक प्रोटिन कोरोना भाइरसको संरक्षक मानिन्छ। स्पाइक प्रोटिनले श्‍वास प्रश्‍वास प्रणालीमा आक्रमण गरेर मानव स्वास्थ्यलाई जटिल बनाइदिन्छ।

प्रतिक्रिया दिनुहोस्