कोभिड-१९ बाट मृत्यु संख्या अढाइ लाख नाघ्यो
लन्डन। कोभिड-१९ को महामारीबाट संसारभरमा अढाइ लाखभन्दा बढीको मृत्यु भएको छ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन्। अमेरिकामा ११ लाख ८० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६८ हजार नौ सयभन्दा बढी ज्यान गुमाएका छन्।
टर्कीमा राष्ट्रपति रिसेप तैय्यप इर्दिगानले मे मध्यदेखि लकडाउनलाई खुकुलो बनाउने घोषणा गरेका छन्। बेलायतले पनि लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको छ। खासगरी, ७० वर्षभन्दा माथिका व्यक्तिहरूलाई अरूबाट टाढै राखेर हिँडडुल गर्न दिनेबारेमा सोच बनाइरहेको प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्।
कोभिड-१९ का कारण अस्ट्रियामा बेरोजगारी दर १२ दशमलव आठ प्रतिशत पुगेको छ। हालसम्म पाँच लाख ७१ हजार चार सय ७७ जना बेरोजगार बनिसकेका छन्। अस्ट्रियामा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ६ सय २१ पुगेको छ। त्यहाँ ६ सय जनाले ज्यान गुमाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्