क्वारेन्टाइन जाँदै गर्दा मृत्यु भएका वृद्धमा कोभिड-१९ नेगेटिभ

धनगढी। बैतडीको झुलाघाट नाकाबाट १८ वैशाखमा नेपाल प्रवेश गरी क्‍वारेन्टाइनतर्फ जाँदै गर्दा बाटोमै मृत्यु भएका वृद्धमा कोराना भाइरस नेगेटिभ पाइएको छ।

बैतडीको पुर्चौंडी-६ मनकालीका ६७ वर्षीय जुने लुहारको अचानक मृत्यु भएपछि कोभिड-१९ परीक्षण गरिएको थियो। परीक्षणबाट उनमा कोरोना भाइरसको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार लुहारको मृत्युपछि थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।

यस्तै, कोरोना संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कञ्‍चनपुर र कैलालीका तीनजनाको रिपोर्ट पनि नेगेटिभ आएको छ।

गौरीगंगा नगरपालिकाको मसुरियाका ३२ वर्षीय पुरुष र उनकी आठ वर्षकी छोरीलाई उच्च ज्वरो र रुघाखोकी लागेपछि २१ वैशाखमा सेती अस्पतालमा भर्ना गरिएको थियो। दुवै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्‍ठले बताए।

यस्तै, कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिकाकी १८ वर्षीय युवतीको रिपोर्ट पनि नेगेटिभ आएको उनले जानकारी दिए।

यसैगरी, कालिकोटको शुभकालिका गाउँपालिका घर भई हाल कैलालीको अत्तरियामा बस्दै आएका २१ वर्षीय पुरुषलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। आज उनको थ्रोट स्वाब संकलन गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्