भारतीय नागरिक जबर्जस्ती नेपाल छिर्न खोजेपछि झापामा सशस्त्र प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

काठमाडौं। जबरजस्ती नेपाल छिर्न खोज्‍ने भारतीय नागरिकलाई रोक्न खोज्दा आक्रमणको प्रयास भएपछि झापामा नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

भारतसँग सीमा जोडिएको झापा गाउँपालिका-४ टाघनडुब्बास्थित नाकाबाट दुईजना भारतीय नेपाल प्रवेश गर्न खोजेपछि हिजो राति सशस्त्र प्रहरीले रोकेको थियो।

त्यसपछि ती दुई भारतीयले नजिकैको गाउँबाट ६०-७० जना मानिस लिएर आएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

“नाकामा अनेकौं बहानामा नेपाल छिर्न खोजिरहेका हुन्छन्। हिजो पनि आँखा छलेर प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोक्यो,” उनले भने, “त्यसपछि मानिसको हुल ल्याएर आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो।”

हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। त्यहाँ थप केही सुरक्षाकर्मी खटाइएको छ। यसबारे भारतीय सीमा सुरक्षा बललाई पनि स्थानीय प्रशासनले जानकारी गराएको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्‍न नेपाल र भारत दुवैतर्फ लकडाउन छ। सीमानाकाहरू पनि सिल गरिएका छन्। तर पनि, अनेकौं बहानामा सीमा क्षेत्रबाट नेपाली र भारतीय नागरिकसमेत आवतजावत प्रवेश गर्न खोजिरहेका हुन्छन्।

सरकारले सीमामा उच्च सतर्कता अपनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। कोभिड-१९ को जोखिम रोकथाम गर्नकै लागि अहिले सशस्त्र प्रहरीले सीमामा एक हजार दुई सय १३ वटा अस्थायी पोष्‍ट बनाएर सुरक्षा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्