निषेधाज्ञा कार्यान्वयन गर्ने क्रममा नेपालगञ्जमा प्रहरीको गाडीमा तोडफोड

काठमाडौं। निषेधाज्ञा कार्यान्वयन गर्न माइकिङ गर्दै हिँड्ने क्रममा बाँकेको नेपालगञ्‍जमा प्रहरीको गाडी तोडफोड भएको छ।

स्थानीय प्रशासनले आज बिहान ११ बजेदेखि लागू गरेको निषेधाज्ञाबारे बजारमा माइकिङ गर्दै हिँडिरहेको प्रहरीको गाडीमा स्थानीय व्यापारीले ढुंगामुढा गरेका हुन्।

रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजार र नजिकैका पसलमा मानिसको भीड लागेपछि प्रहरीले हटाउन खोज्‍ने क्रममा विवाद भएको थियो।

वडा प्रहरी कार्यालय नेपालगञ्‍जका इन्चार्ज प्रहरी निरीक्षक हरि बस्‍नेतका अनुसार स्थानीय एक व्यापारीले प्रहरीमाथि नै हात हालेपछि स्थिति तनावपूर्ण बनेको थियो।

प्रहरीले ती व्यापारी रवि गुप्तालाई नियन्त्रणमा लिएपछि विवाद झन् बढेको हो। स्थानीय व्यापारीको ढुंगा प्रहारबाट प्रहरीको बा१ झ ८२८४ नम्बरको गाडीमा क्षति पुगेको छ।

११ बजेदेखि निषेधाज्ञा लागू भएपछि बिहान केही समय प्रहरीले अत्यावश्यक सामग्री किन्‍नका लागि बजार खुल्न दिएको थियो।

अहिले भने त्यहाँको स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्