विराटनगरमा उपचाररत ६ जना कोरोनामुक्त, भोलि बिहान डिस्चार्ज गरिने

विराटनगर। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत ६ जना कोरोना संक्रमितलाई भोलि, २४ वैशाखमा डिस्चार्ज गरिने भएको छ।

डिस्चार्ज गर्न लागिएका सबै भारतीय नागरिक हुन्। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा बसेका उनीहरूलाई ५ वैशाखमा कोभिड-१९ पुष्‍टि भएको थियो।

दोस्रो र तेस्रो पटक गरिएको थ्रोट स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएकाले उनीहरूलाई डिस्चार्ज गर्न लागिएको प्रदेश १ कोभिड-१९ निगरानी, प्रतिवेदन तथा अनुगमन सचिवालय एवं मोरङ जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्‍नेतले बताए।

"उहाँहरू निको हुनुभएको छ। अहिलेसम्मको अवस्था हेर्दा भोलि बिहान ८ बजे डिस्चार्जको तयारी गरिएको छ", बस्‍नेतले देखापढीसँग भने।

उपचारपश्‍चात कोरोना मुक्त भएकाहरूमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

नेपाल-भारत सीमा बन्द भएको र दुवैतर्फ लकडाउन रहेका कारण उनहहरूलाई केही दिन विराटनगर-१६ रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने भएको छ।

उदयपुरका २८, झापाका दुई र भोजपुरका एक गरी प्रदेश १ मा ३१ जना संक्रमित फेला परेका छन्।

सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्