‘प्रोफेसर लकडाउन’ आफैंले उल्लंघन गरे ‘सोसल डिस्ट्यान्सिङ’

लन्डन। प्राध्यापक निल फर्गुसन बेलायतमा कोभिड-१९ फैलिन नदिन लकडाउन सिफारिस गर्ने विज्ञ हुन्। त्यसैले उनले बेलायतमा ‘प्रोफेसर लकडाउन’को उपनाम नै पाएका छन्।

तर, उनी आफैंले ‘सोसल डिस्ट्यान्सिङ’ उल्लंघन गरेपछि विवादमा परेका छन्। सोही कारण कोभिड-१९ को मामिलामा बेलायत सरकारको प्रमुख सल्लाहकार पदबाट उनले राजिनामा दिनु परेको छ।

“मैले गल्ती गरें, म स्वीकार गर्छु,” आफ्नो राजिनामा घोषणा गर्दै प्रोफेसर फर्गुसनले भने, “महामारी नियन्त्रणमा लिन सोसल डिस्ट्यान्सिङको पलना अत्यावश्यक छ, जसको मैले नजरअन्दाज गरें।”

उनले एक महिलालाई आफ्नो निकट आउन दिएर भौतिक दूरी कायम राख्नुपर्ने प्रावधान उल्लंघन गरेको समाचार डेली टेलिग्राफले प्रकाशित गरेको थियो।

बीबीसीका अनुसार उनी सेन्टर फर ग्लोबल इन्फेक्सस डिजिज एनालाइसिसका निर्देशक थिए। यो संस्थाले सरकारहरू र विश्‍व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि कोभिड-१९ को महामारीसम्मका बारेमा परामर्श दिने गर्छ।

यही संस्थाले गत जनवरीमा संसारभर कोभिड-१९ को जोखिमका बारेमा सचेत गराएको थियो। चीनले वुहानमा थोरै मानिसमा कोरोना भाइरस संक्रमण रहेको बताइरहँदा यही संस्थाले त्यो आँकडा सयौं हुन सक्ने बताएको थियो।

प्रोफेसर फर्गुसनको टिमको सल्लाहअनुसार नै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २३ मार्चमा लकडाउन घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्