लकडाउनको अवधि र स्वरूपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्दैछ। आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले देखापढीलाई बताए।

डेढ महीनादेखि जारी लकडाउनको अवधि थप्‍ने/नथप्‍ने र लकडाउनको अबको स्वरूप कस्तो हुने भन्‍ने आजको बैठकको मुख्य अजेण्डा छ।

कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको हिजो बसेको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा बालुवाटारमा बसेको उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै केही दिन निरन्तरता दिन सिफारिस गरिसकेको छ।

यद्यपी लकडाउनले देशैभर निरन्तर हुने वा जोखिमयुक्त क्षेत्रमा लकडाउन कडाइ गरेर कम जोखिम भएको क्षेत्रमा केही खुकुलो बनाउने भन्ने निर्णयको विकल्पबारे पनि छलफल भइरहेको छ।

लामो समय लकडाउन कायम रहँदा त्यसले अर्थतन्त्र र दैनिक जनजीवनमा कठीनाइ हुने भन्दै केही खुकुलो बनाउनुपर्ने सुझाव पनि आइरहेको छ।

सुरक्षा निकायले पनि सीमा जोडिएका जिल्लाहरुमा थप कडाइ गरेर लकडाउन प्रभावकारी बनाउनुपर्ने र जोखिम कम भएको क्षेत्रमा केही खुकुलो बनाउन सुझाव पेश गरेका छन्।

कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले गएको ११ चैतदेखि लकडाउन लागू गरिएको थियो। पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोलि, २५ वैशाखमा सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्