कोरोना जितेर २० दिनपछि डिस्चार्ज भए कोशी अस्पतालका ६ जना संक्रमित

विराटनगर। विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा रहेकामध्ये ६ जना निको भएका छन्।

दोस्रो र तेस्रो पटक गरिएको कोभिड-१९ परीक्षणमा नतिजा नेगेटिभ देखिएकोले उनीहरूलाई केही बेरअघि मात्र डिस्चार्ज गरिएको प्रदेश १ कोभिड-१९ निगरानी, प्रतिवेदन तथा अनुगमन सचिवालयका प्रमुख ज्ञानबहादुर बस्‍नेतले देखापढीलाई बताए।

अस्पताल परिसर पुगेका सामाजिक विकास मन्त्री जीवन घिमिरे, अस्पतालका चिकित्सकलगायतको टोलीले निको भएकाहरूको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोनामुक्त भएका सबैजना भारतीय नागरिक हुन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा बसेका उनीहरूलाई ५ वैशाखमा कोभिड-१९ पुष्‍टि भएको थियो।

आज डिस्चार्ज गरिएपनि नेपाल-भारत सीमा बन्द भएको र दुवैतर्फ लकडाउन रहेका कारण ती ६ जना केही दिन विराटनगर-१६ रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्‍ने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना मुक्त भएकाहरूमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद छन्।

प्रदेश १ मा सबैभन्दा बढी ३१ जनामा कोभिड-१९ देखिएको थियो। तीमध्ये उदयपुरमा २८, झापामा दुई र भोजपुरमा एकजना संक्रमित भेटिएका हुन्।

अब कोशी अस्पतालको आइसोलेसनमा २५ जना संक्रमित उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्