अन्तरिक्षमा फिल्म सुटिङ गर्दै हलिउड अभिनेता टम क्रुज

न्युयोर्क। हलिउड अभिनेता टम क्रुज अन्तरिक्षमा फिल्म सुटिङको तयारीमा रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पुष्‍टि गरेको छ।

इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस)मा पुगेर उनी आफ्नो आगामी फिल्मको सुटिङ गर्ने तयारीमा रहेको नासाले प्रष्‍ट्याएको छ।

करिब अढाइ सय माइल टाढाबाट पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसमा उनको नयाँ फिल्म सुटिङ हुने नासाका प्रवक्ताले बताएका छन्।

आईएसएसले सन् २००० यता निरन्तर पृथ्वीको फेरो मारिरहेको छ। आईएसएसमा अन्तरिक्ष पर्यटनका लागि पनि उपयोग गर्ने योजना छ।

यसअघि पप स्टार लान्स बासले पनि आईएसएसमा पुगेर पृथ्वीको फेरो मार्ने योजना बनाएका थिए। तर, उनको योजना पूरा हुन पाएन।

अन्तरिक्षमा हालसम्म कमै फिल्मको सुटिङ भएको छ। त्यसमध्ये सन् २००२ मा तयार भएको वृत्तचित्र ‘आईम्याक्स’ पनि हो। त्यस वृत्तचित्रमा अभिनेता क्रुजले आवाज दिएका थिए।

यस्तै, सन् २०१२ मा अन्तरिक्ष पर्यटक रिचार्ड गेरिओटले फिल्म ‘अपोजी अफ फियर’ अन्तरिक्षमै खिचेका थिए। यो साइन्स फिक्सन फिल्म थियो। तथापि, टम क्रुज अलौकिक यात्रामा निस्किने पहिलो अभिनेता बन्दैछन्।

“हामी यस महत्वाकांक्षी परियोजनामा अगाडि बढिसकेका छौं,” नासाका प्रशासक जिम ब्राइडेन्सटाइनले ट्विटमा भनेका छन्।

सीएनएनका अनुसार क्रुजको उक्त फिल्म पहिलो एक्सन एडभेन्चर फिल्म हुनेछ। क्रुज कहिले आईएसएसका लागि पृथ्वीबाट प्रस्थान गर्ने छन् र उनका साथमा कतिजना क्रु मेम्बर हुने छन् भन्‍ने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्