५ जेठसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले जारी लकडाउनलाई ५ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि ५ जेठ सम्म थप्ने निर्णय गरेको एक मन्त्रीले देखापढीलाई बताए।

कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको २३ वैशाखको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई सिफारिस गरेको थियो।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आमन्त्रण गरिएको थियो। विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को जोखिम फैलिन नदिन ११ चैतदेखि लकडाउन जारी छ। पछिल्लोपटक १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले लम्ब्याएको लकडाउनको अवधि भोलि, २५ वैशाखमा सकिँदै थियो।

सरकारले १८ जेठसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताए। यसअघि २ जेठसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरिएको थियो। यसैलाई बढाएर १८ जेठसम्म पुर्‍याएको हो।

त्यसैगरी, सरकारले २५ वैशाखकाे साँझमा दीपप्रज्वलन गर्न नागरिकहरुलाई आह्वान गरेको छ। २५ वैशाखमा परेको बुद्ध जयन्तीको अवसर पारेर कोभिड-१९ को विरामी स्वास्थ्यलाभको कामना गर्न र उनीहरुको उपचारमा खटएिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउनको लागि दीपप्रज्वलन गर्ने निर्णय गरिएको भट्टराइले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्