किन बन्द छ चितवनकाे काेभिड-१९ परीक्षण प्रयोगशाला ?

चितवन। कोरोना भाइरस (कोभिड-१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड-१९ परीक्षण प्रयोगशाला किट अभावका कारण एक हप्तादेखि बन्द छ।

स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीले जानकारी दिए।

चितवनमा गत २४ चैतदेखि सो प्रयोगशाला सञ्चालनमा आएको हो। तर, किट अभाव भएपछि चितवनबाट संकलन भएका नमूना परीक्षणको लागि बाहिरी जिल्ला पठाउन बाध्य भएका छन्।

“नेपालमै किटको अभाव भएकाले मन्त्रालयले समयमा किट पठाउन नसकेको बताएको छ”, प्रमुख डा. अधिकारीले भने, “हामीले अहिले पनि एक महीनाको लागि भनेर एक हजार २०० थान किटको माग गरेका छौं।”

यसअघि पहिलोपटक पठाएको ३८३ वटा किट सकिएपछि थप ४०० किटको माग गर्दा मन्त्रालयले जम्मा १०० थान किट पठाएको उनले जानकारी दिए।

डा. अधिकारीका अनुसार १०० वटा किटले चितवनमा जम्मा दुई दिन मात्रै परीक्षण गर्न पुग्छ। प्रयोगशाला स्थापना भएको एक महीना पुग्नै लाग्दा हालसम्म दुईपटक गरेर जम्मा ४८४ वटा मात्रै पीसीआर किट चितवन आएको छ।

“चितवनमा दैनिक सरदर ४० देखि ५० वटा किट खपत हुन्छ”, उनले भने,“त्यसैले हामीले बढी नै किट माग गर्ने गरेका छौँ, तर मन्त्रालयबाट नेपालमै किट अभाव भएको बताइएको छ।” रासस

प्रतिक्रिया दिनुहोस्