नेकपा सचिवालय बैठक शुरू

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ। भोलि, २५ वैशाखदेखि शुरू हुने पार्टीको स्थायी समितिको बैठकका अजेण्डा तय गर्न सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरू भएको हो।

आजको बैठकमा नेताहरुले भोलिदेखि शुरू हुने पार्टीको स्थायी समितिको बैठकमा छलफल गर्ने अजेण्डाका बारेमा निर्णय गर्नेछन्। २० वैशाखमा बसेको सचिवालयको बैठकपछि पनि नेताहरूबीच आन्तरिक भेटघाट तीव्र बनेका छन्। यो बीचमा दुई पार्टी अध्यक्षबीच र नेताहरूबीच छुट्टाछुट्टै पनि भेटवार्ता भएका छन्।

आजै दुईअध्यक्षबीच बिहान भेटवार्ता भएको थियो। यस्तै आज नै नेता वामदेव गौतम खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए।

दाहाल–नेपाल समूहको पनि पटक-पटक यो बीचमा भेटघाट र छलफल भएको छ।

नेपाल समूहले स्थायी समितिको बैठकमा कडारूपमा प्रस्तुत हुने रणनीति तय गरेको नेताहरू बताउँछन्। पार्टीलाई एकताबद्ध बनाएर लैजाने भनेर यसअघिको सचिवालयको बैठकमा निर्णय भए पनि नेताहरू स्थायी कमिटीको बैठकमा छलफल गर्नुपर्ने अजेण्डामा सहमत हुन सकिरहेका छैनन्।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा अहिले ४४ जना छन्। अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएपछि स्थायी समितिको संख्या ४४ छ। आजको सचिवालयको बैठकमा नेताहरूले सहमतिका आधारमा नै स्थायी समितिको बैठकमा छलफल गर्ने अजेण्डा तय गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्